अख्तियारद्वारा विशेष अदालत काठमाडौंमा दर्ता गरिएका मुद्दाहरू

सुर्योदय उच्च माध्यमिक विद्यालय, हुम्लामा शिक्षक सेवा आयोगको सिफारिस पत्रानुसार माध्यमिक तहको तृतीय श्रेणीको विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भएको जितेन्द्र कुमार झाले शिक्षा शास्त्र विषयमा अध्यापन नगरेको र शैक्षिक तालिम पनि नलिएको व्यक्तिले सप्तरी जिल्लाबाट नक्कली अध्यापन अनुमति पत्र लिई महादेव मा.वि. दार्मा, हुम्लामा माध्यमिक तहको विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज जितेन्द्र कुमार झाले बि.एन. मंडल विश्वविद्यालय, लालुनगर, मध्येपुरा बिहारबाट जारी गरिएको बि.एस्सी. (एच) को झुठ्ठा (नक्कली) शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी मिति २०६५।०१।१५ बाट महादेव माध्यमिक विद्यालय, दार्मा, हुम्लामा माध्यमिक शिक्षकमा अस्थायी नियुक्ति भएको र मिति २०७१।०४।०१ देखि लागु हुनेगरी माध्यमिक तहको तृतीय श्रेणी विज्ञान विषयको स्थायी शिक्षक पदमा नियुक्ति भई सुर्योदय उच्च माध्यमिक विद्यालय, श्रीनगर, हुम्लामा कार्यरत रहेको देखिन आएबाट सरकारी लाभ सुविधा लिएको पाइएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको देखिंदा निज शिक्षक जितेन्द्र कुमार झापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

बेलबारी नगरपालिका वडा नं. २ को कार्यालय बाहिर लेखापढी व्यवसाय गर्ने तिर्थराज गिरीले सेवाग्राहीको नागरिकता प्रमाण-पत्रमा भारतीय सेनामा कार्यरत रहेको कागजात अनुसार नाम र जन्म मिति सच्याउन जिल्ला प्रशासन कार्यालयमा खर्च लाग्छ भनी जिल्ला प्रशासन कार्यालय, मोरङका खरिदार टेकबहादुर श्रेष्ठसँग मिलेमतो गरी सेवाग्राहीसँग रू.६,००,०००/- लिएकोमा निजहरू तिर्थराज गिरी र टेकबहादुर श्रेष्ठले भ्रष्टाचार गरेको कसुरमा यस आयोगमा घुस/रिसवत रकमसहित दाखिला हुन आएकोमा अनुसन्धान हुँदा पदमबहादुर लिम्बु भन्ने बमबहादुर लिम्बुको नागरिकता प्रमाण-पत्रमा जन्म मिति संशोधन गरी सोबापत लेखापढी व्यवसाय गर्ने तिर्थराज गिरीले रू.६,००,०००/- रकम लिई नागरिकता संशोधन गरेबापत जिल्ला प्रशासन कार्यालय, मोरङका खरिदार टेकबहादुर श्रेष्ठलाई रू.१,००,०००/- दिएकोले निज राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज टेकबहादुर श्रेष्ठलाई बिगो रू.१,००,०००/- (एक लाख) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन साथै निज राष्ट्रसेवकले लिएको घुस/रिसवत रू.१,००,०००/- बरामद हुन नसकेकोले सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निजबाटै असुल उपर गरी जफत हुनसमेत मागदाबी लिईएको।त्यस्तै लेखापढी व्यवसाय गर्ने तिर्थराज गिरीले खरिदार टेकबहादुर श्रेष्ठसँग एकआपसमा मिली सेवाग्राहीसँग मोलाहिजा गरी नागरिकता संशोधनको लागि रू६,००,०००/- लिई टेकबहादुर श्रेष्ठलाई रू.१,००,०००/- दिएको र बाँकी रू.५,००,०००/- आफै खाई मास्ने मनसायले राखेको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो रू.६,००,०००/-(छ लाख) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई साथै घुस/रिसवत लिएको मध्ये बरामद भएको रू.५,००,०००/- सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम जफत गरी बरामद हुन नसकेको रू.१,००,०००/- सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम निजबाटै असुल उपर गरी जफत हुनसमेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

श्री साझापुर उच्च माध्यमिक विद्यालय, मेघौली-४, चितवनमा राहत दरबन्दीमा कार्यरत शिक्षक नारायण शर्माले बि.एस.सी. को नक्कली प्रमाण-पत्र पेश गरी जागिरमा प्रवेश गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री साझापुर उच्च माध्यमिक विद्यालय, मेघौली, चितवनका तत्कालीन शिक्षक नारायण शर्माले उक्त विद्यालयमा मा.वि. (राहत दरबन्दी) विज्ञान विषयको शिक्षक पदमा नियुक्ति लिने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, बल्खुबाट जारी भएको Bachelor,s Degree in Science and Technology तहको शैक्षिक प्रमाण-पत्र नक्कली एवं झुठ्ठा बनाई पेश गरी श्री साझापुर उच्च माध्यमिक विद्यालय मेघौली, चितवनमा मिति २०६५।०१।०८ गते मा.वि. राहत विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भई मिति २०६७।११।०२ गतेसम्म सरकारी ओहदामा बहाल रही लाभ प्राप्त गरेको देखिन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज नारायण शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण जलेश्वर महोत्तरीका तत्कालीन सुपरभाइजर महंथ मण्डलको शैक्षिक प्रमाण-पत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले बिहार संस्कृत शिक्ष बोर्ड पटना भारतबाट मध्यमा तह पास गरेको शैक्षिक योग्यताको झुठ्ठा एवं नक्कली लब्धांक पत्र तथा प्रब्रजन प्रमाण-पत्र, विद्यालय परित्याग प्रमाण-पत्र बनाई पेश गरी सोही नक्कली प्रमाणपत्रको आधारमा मिति २०५०।०५।०४ गते नेपाल विद्युत प्राधिकरणमा तह ३ इलेक्ट्रिसियन पदमा नियुक्ति पाई सुपरभाइजर तह ५ सम्म बढुवासमेत भई लाभ लिएको हुँदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको तथ्य पुष्टि हुन आएकोले निज महंथ मण्डललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

उच्च सरकारी वकिल कार्यालय, बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवले ठगी सम्बन्धी मुद्दाको बन्दी प्रत्यक्षिकरणमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीद्वारा निजलाई सेवाग्राहीसँग रु. १५,०००।– (पन्ध्र हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।अनुसन्धानको सिलसिलामा उच्च सरकारी वकिल कार्यालय बुटवल रुपन्देहीका कार्यालय सहयोगी महेन्द्र यादवले बन्दी प्रत्यक्षिकरण मुद्दामा सहजीकरण लगायतका काम गरिदिएबापत सेवाग्राहीसँग रु. १५,०००।– घुस/रिसवत लिएको प्रमाणित हुन आएकोमा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर देखिंदा निज महेन्द्र यादवलाई बिगो रू. .१५,०००/- (पन्ध्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

श्री माध्यमिक विद्यालय, लगडी गदियानी, सिरहाका प्रा.वि. द्वितीय श्रेणीमा कार्यरत स्थायी शिक्षक राम नारायण यादवको शैक्षिक योग्यताका प्रमाण-पत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले बिहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट हाइस्कुल तह पास गरेको नक्कली झुठ्ठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी मिति २०४६।०५।०१ देखि श्री माध्यमिक विद्यालय, लगडी गदियानी, सिरहाको प्राथमिक शिक्षकमा अस्थायी नियुक्ति भई मिति २०४८।०५।१२ देखि सोही पदमा स्थायी नियुक्ति लिई मिति २०६८।१२।०७ बाट जेष्ठता कायम हुने गरी सोही विद्यालयमा प्राथमिक तहको द्वितीय श्रेणीमा विशेष बढुवा नियुक्ति लिई सरकारी सुविधा एवं लाभसमेत लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले निज राम नारायण यादवलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण, ग्रिड महाशाखा चौकिटोल, हेटौंडामा कार्यरत हेल्पर लोकनाथ खनालको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले नेपाल माध्यमिक विद्यालय अमलेखगञ्ज, बाराबाट कक्षा ९ पास गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाण-पत्र मिति २०५४ सालमा पेश गरी सरकारी सेवामा ज्यालादारी र २०६८ सालमा जुनियर हेल्पर पदमा स्थायी नियक्ति भई लाभसमेत लिएको पुष्टि हुन आएकोले निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) द्वारा परिभाषित कसुर गरेको देखिएकोले निज लोकनाथ खनाललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्र, हेटौंडामा कार्यरत इलेक्ट्रिसियन शंकर बहादुर तामाङले नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी नोकरी खाई रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज मिति २०४१ सालमा दैनिक ज्यालादारी कुल्ली पदमा नियुक्ति भई त्रिभुवन माध्यमिक विद्यालय नवलपुर, हेटौंडाबाट कक्षा ८ पास गरेको नक्कली शैक्षिक योग्ताको प्रमाण-पत्र पेश गरी २०५० सालमा कुल्ली पदमा स्थायी नियुक्ति भएको हुँदा तह ३ कुल्ली पद (इलेक्ट्रिसियन) मा बढुवासमेत भई सरकारी सेवाको लाभ तथा सुविधा लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिंदा निज शंकर बहादुर तामाङलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

भानु नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत हेलन गुरुङले झुठ्ठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी नियुक्ति भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले हिमालय बोर्डिङ स्कुल चुँदी, तनहुँबाट कक्षा ८ पास गरेको भन्ने झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी मिति २०७५।०१।२० मा भानु नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यालय सहयोगी पदमा नियुक्ति भई सरकारी लाभ लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर देखिन आएको हुँदा निज हेलन गुरुङलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 1026 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *