कृषि विकास बैंक ह्याकिङमा मिलेमतो ह्याकरदेखि कर्मचारीसम्मको?

विभिन्न रेमिट तथा कृषि विकास बैंकका शाखाहरूबाट सिस्टम ह्याक गरेर ५ करोड रकम व्यक्तिका खातामा निकाल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले नुवाकोट मेघाङ गाउँपालिका ४का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं तारकेश्वर काभ्रेस्थलीका सन्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङलाई पक्राउ गरेको हो। त्यसैगरी प्रहरीले मंगलबार न्यूराेडबाट लक्ष्मी श्रेष्ठ, श्रवणकुमार श्रेष्ठ र भारतीय नागरिक शुभसंकरलाई पक्राउ गरेकाे थियो। त्यही काण्डमा कैलालीकाे भजनीबाट बिजयकुमार शाहलाई पनि पक्राउ गरेकाे छ। शुभसंकर न्यूराेडमा गहना पसल गर्दै हुण्डी व्यवसायमा पनि संलग्न रहेकाे प्रहरीले जनाएकाे छ।

प्रहरीले तयार गरेकाे प्रतिवेदनअनुसार गत असोज ५ गते ह्याकरहरूले पानस रेमिट्यान्सबाट सिस्टम ह्याक गरेर ४ लाख २० हजार रुपैयाँ निकालेका थिए। त्यस्तै भुक्तानी हुन बाँकी १ लाख २० हजार रुपैयाँ पनि सिस्टम ह्याक गरेर उनीहरूले रोकिदिए पछि रेमिट्यान्सले प्रहरीमा उजुरी दिएको थियो।

उजुरीका आधारमा प्रहरीले सुरुमा सन्जय घलेलाई पक्राउ गरेको थियो। त्यसअघि उनले बालाजुमा रहेको बिएनएस रेमिट्यान्सबाट पनि पैसा निकालेका थिए। त्यहाँबाट निकालेको ६० हजार रुपैयाँ उनले आफ्नी माइजुलाई दिएको प्रहरीलाई बयान दिएका छन्।

सोही बयानका आधारमा उनकी माइजु भनिने लक्ष्मी तामाङलाई पनि पक्राउ गर्‍यो। उनले प्रहरीमा लबङ तामाङले एक जनासँग २७ लाख रुपैयाँ लिनु छ, तिमीहरूको नाममा पठाइदिन्छ, त्यो पैसा झिकेर मलाई दिनु भनेको बताइन्। लक्ष्मीलगायत अरु चार जनाको नाममा पनि पैसा आएको थियो। चारै जनाको नाममा आएको रकम जम्मा गरी लक्ष्मीले लवाङलाई २ लाख ४० हजार रुपैयाँ दिएकी थिइन्।

अनुसन्धान गर्दै जाँदा प्रहरी कीर्तिपुरमा बस्ने विद्यासागर लामिछानेको कोठासम्मै पुग्यो। उनको कोठामा कालो झोलामा बेरिएको एउटा पोका फेला पार्‍यो। त्यो पोकामा ३१ लाख रुपैयाँ थियो। प्रहरीले त्यो रकम पनि बरामद गर्‍यो र लामिछानेलाई पनि पक्राउ गर्‍यो।

लामिछानेले आफ्नो साथी पुष्पराज खड्काले राख्न दिएको भनी बयान दिए। पुष्पराजले लामिछानेलाई ‘यो मेरो पहिलादेखिकै चिनजानको साथी लवङ तामाङको पैसा हो, राखिदिनु’ भनेर दिएका थिए। प्रहरीले उनीहरुकै बयानका आधारमा पुष्पराजलाई पनि कीर्तिपुर नगरपालिकाको मैतिनगरबाट पक्राउ गर्‍यो।

प्रहरीले उनीहरूसँग विभिन्न बैंकको चेक, मोटरसाइकलका ब्लुबुक, राहदानी, एटिएमहरु पनि बरामद गरेको छ।

लवङ तामाङको नाममा नुवाकोटस्थित कृषि विकास बैंकको खातामा ५० लाख रुपैयाँ जम्मा भएको देखिएको छ। प्रहरीले उनको ह्वाट्सअप म्यासेन्जरमा पाएको म्यासेजअनुसार इब्राहिम भनिने एकजनाले त्यो ५० लाख खातामा हालिदिन्छु भनेका थिए। त्यो उनी पक्राउ पर्नुभन्दा करिब २५ दिनअघिको कुरा थियो। त्योमध्ये २८ लाख रुपैयाँ उनले असोज ५ गतेको चेकबाट निकालेका थिए।

यो सबै रकम कृषि विकास बैंकको हो। विभिन्न शाखाबाट कृषि विकास बैंकको सिष्टम ह्याक गरेर व्यक्तिको नाममा पठाइएको प्रहरीले जनाएको छ। तर, बैंकले अहिलेसम्म पनि रकम एकीन गर्न सकेको छैन। प्रहरीको अनुसन्धानमा करिब ५ करोड रुपैयाँ यसरी विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको देखिएको छ। त्योमध्ये प्रहरीले करिब ६० लाख रुपैयाँ अहिलेसम्म बरामद गरेको छ।

बैंकका अनुसार कृषि विकास बैंक लहान शाखाका प्रबन्धकको पासवर्ड प्रयोग गरेर दुई करोड झिकिएको छ। प्रबन्धकको पासवर्ड प्रयोग गरेर उक्त शाखाका कर्मचारीले अवैध रुपमा पैसा झिकेको प्रारम्भिक अध्ययनले देखाएको कृषि विकास बैंकका कार्यवाहक महाप्रबन्धक प्रताप सुवेदीले बताए। ‘मेनेजरको पासवर्ड प्रयोग गरेर त्यहाका कर्मचारीले झिकेका रहेछन्,’ उनले भने, ‘२,३ जनालाई समातेको छ।’ 

https://nepalnews.com/news/nation/8616-2019-09-25-06-15-44

Total Page Visits: 684 - Today Page Visits: 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *