घुस माग गर्ने नियन्त्रणमा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग

चोरी कसुरसम्बन्धी अनुसन्धानको क्रममा हिरासतमा रहेका रुवेश महरालाई छुटाई दिन निजका आफन्तहरुले घुस रकम दिन खोजेको भनी प्रहरी सहायक निरीक्षक बाबुलाल लामाले तत्काल कार्यालयमा जानकारी गराएको हुँदा महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौंबाट खटिई गएको टोलीले का.जि.का.म.न.पा. वडा नं. २३ बसन्तपुर स्थित कुमारी मन्दिर परिसरमा सुरेन्द्र मण्डल, गगनदेव महरा र अशोक दास समेतलाई रु.८०,०००।- (असी हजार) नगद घुस सहित पक्राउ गरी आवश्यक कारबाहीको लागि यस आयोगमा पठाईएकोमा अनुसन्धान हुँदा चोरी मुद्दाको अनुसन्धानको क्रममा हिरासतमा रहेका रुवेश महरालाई छुटाउने प्रयोजनको लागि अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डलले महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी सहायक निरीक्षक बाबुलाल लामासमेतका लागि रविन्द्र प्रजा मार्फत् रु.२,००,०००।-(दुई लाख) घुस/रिसवत दिएको र सोही प्रयोजनको लागि रविन्द्र प्रजाले प्रहरी सहायक निरीक्षक बाबुलाल लामाको निर्देशनमा आफ्नो र निज प्रहरी सहायक निरीक्षक बाबुलाल लामाको लागि रु.२,००,०००।-(दुई लाख) घुस/रिसवत लिएको साथै राष्ट्रसेवक प्रहरी सहायक निरीक्षक बाबुलाल लामाले हिरासतमा रहेका रुवेश महरालाई छुटाउन घुस/रिसवत लिन मन्जुर गरेको तथ्य पुष्टि हुन आई राष्ट्रसेवक कर्मचारी निज बाबुलाल लामाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई बिगो रु.२,००,०००।-(दुई लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन,साथै  बिचौलिया रविन्द्र प्रजाले निज बाबुलाल लामाको निर्देशन बमोजिम निज राष्ट्रसेवकलाई घुस/रिसवत दिन र आफुले समेत लिन अशोक दासबाट घुस रकम बुझिलिई निज रविन्द्र प्रजाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको हुँदा निज रविन्द्र प्रजालाई बिगो रु.२,००,०००।-(दुई लाख) रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को खण्ड (घ) अनुसार सजाय हुन, त्यस्तै अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डलले थुनामा रहेको व्यक्ति छुटाउने प्रयोजनको लागि राष्ट्रसेवक कर्मचारी समेतलाई रविन्द्र प्रजा मार्फत घुस/रिसवत दिएको पुष्टि हुन आई निज अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको हुँदा निजहरु अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डललाई जनही बिगो रु.२,००,०००।-(दुई लाख) रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायँ हुन र घुस/रिसवतको बिगो रु.२,००,०००।-(दुई लाख) रुपैयाँ मध्ये बरामद भएको रु.८०,०००।-(असी हजार) रुपैयाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत गरी नपुग बिगो रु.१,२०,०००।-(एक लाख बीस हजार) रुपैयाँ यी आरोपीहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

साथै नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कसप हेटौंडामा कार्यरत ईलेक्ट्रिसियन भेष बहादुर पौडेलले नक्कली शैक्षिक प्रमाण-पत्र धारण गरी नोकरी खाई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले त्रिभुवन माध्यमिक विद्यालय, नवलपुर, हेटौंडाबाट ९ कक्षा उत्तीर्ण गरेको झुठ्ठा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०६८ सालमा तह ३ ईलेक्ट्रिसियन पदमा बढुवा लिई सोही तहको लाभसमेत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज ईलेक्ट्रिसियन भेष बहादुर पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

साथै नापी कार्यालय, बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र आफूलाई लेखापढी कार्य गर्ने बताउने प्रताप के.सी.ले हालसाविक भिडाउने काम बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निजहरु यामबहादुर खत्री र प्रताप के.सी. लाई सेवाग्राहीबाट रु.३५,०००/- (पैतीस हजार) घुस/रिसवत लिएको अवस्थामा नियन्त्रणमा लिईएको थियो।

साथै अनुसन्धानको सिलसिलामा नापी कार्यालय, बाँकेका सर्भेक्षक यामबहादुर खत्रीले सेवाग्रहीको जग्गा हालसाविक गरिदिएबापत लेखापढी व्यवसायी प्रताप के.सी. एवं निजकी श्रीमती शारदा कुमारी के.सी.को प्रत्यक्ष संलग्नतामा घुस/रिसवत लिएको प्रमाणित हुन आएको हुँदा निज सर्भेक्षक यामबहादुर खत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज यामबहादुर खत्रीलाई बिगो रु. ३५,०००/- (पैतीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ।त्यस्तै लेखापढी व्यवसायी प्रताप के.सी. एवं निजकी श्रीमती शारदा कुमारी के.सी.ले राष्ट्रसेवक कर्मचारी यामबहादुर खत्रीलाई घुस/रिसवत दिन/दिलाउन सहयोग गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियार हुने कसुर गरेको प्रमाणित हुन आएको हुँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम बिगो रु. ३५,०००/- (पैतीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

साथै जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन बैतडीका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्टले चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज इन्जिनियर सुरेशराज भट्टलाई घुस बापतको रकम रू.१,००,००/- लिइसकेको अवस्थामा र स्रोत नखुलेको रकम रू.१,००,०००/- गरी जम्मा रकम रू.२,००,०००/- (दुइ लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन बैतडीका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्टले सेवाग्राहीलाई घुस/रिसवत दिन बाध्य बनाई सोबापत रकम रू.१,००,००/-(एक लाख) र स्रोत नखुलेको रू.१,००,०००/-(एक लाख) सहित पक्राउ परेको भन्ने तथ्य प्रमाणित हुन आएको हुँदा निज राष्ट्रसेवकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निज इन्जिनियर सुरेशराज भट्टलाई बिगो रु. १,००,०००/-(एक लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

Total Page Visits: 792 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *