घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुँदा अख्तियार द्वारा आरोपपत्र दायर

जिल्ला जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी. ले सोही गाउँपालिकाको वडा नं. ५ मा बिभिन्न उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्न पश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीद्वारा निज कृष्णबहादुर के.सी. र निजसँगै रहेका चन्द्रबहादुर बस्नेतसमेतलाई रु.८,००,०००।- (आठ लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।अनुसन्धानको सिलसिलामा अध्यक्ष कृष्णबहादुर के.सी. र जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतले एक आपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण काम सम्पन्न पश्चात भुक्तानीको लागि सहजीकरण गरिदिने भनी रु. ८,००,०००।– (आठ लाख) घुस/रिसवत माग गरी उक्त रकम बाँडी लिएको स-प्रमाण पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भए गरेको देखिंदा निजहरु अध्यक्ष कृष्णबहादुर के.सी. र प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतलाई बिगो रु. ८,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

जिल्ला जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी. ले कमिसन दिनुपर्यो भनी धाकधम्कीसमेत दिई पटक-पटक नगद र बैंक खातामा रकम दाखिला गर्न लगाई घुस/रिसवत दिने चाहना नहुँदा नहुँदै पनि घुस दिन बाध्य भई घुस दिन परेको हुँदा कारवाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कृष्णबहादुर के.सी. र राज बहादुर शाहीले एकआपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गेनिङ गरी पटक-पटक नगदै लिई, बैंक खातामा जम्मा गर्न, बिभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाई बिभिन्न बरबहानामा रु. २५,५०,०००।– (पच्चीस लाख पचास हजार) घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भए गरेकोले निजहरु अध्यक्ष कृष्णबहादुर के.सी. र वडा नं. ५ का वडा अध्यक्ष राज बहादुर शाहीलाई बिगो रु. २५,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लामो समयदेखि सरकारी पद धारण गरिरहेकोले कारबाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले मगध विश्वविद्यालय बोधगया भारतबाट B.COM. उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्रहरु प्रमाणिकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएकोले निज उत्तम कार्कीले राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले उक्त झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेको देखिएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुर देखिएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

श्री कालिका प्राथमिक विद्यालय तनहुँको वालविकास तह सहयोगी कार्यकर्ता पदमा कार्यरत शिक्षक कमला वाग्ले (कोइराला) को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय बाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ती लिई हाल सोही विद्यालयमा बहाल रहेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज शिक्षक कमला वाग्ले (कोइराला) उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पाले विमानस्थलस्थित प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा सुन तस्करीमा संलग्न भियतनामी र कम्बोडियन नागरिकसँग सांकेतिक संवाद गरी सुन फाल्न लगाउने कार्यमा संलग्न भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज कार्यालय सहयोगी डोमा शेर्पाले मिति २०७६।०१।०८ गते THAI AIRWAYS बाट नेपाल आएका भियतनामी नागरिक PHANTHI LOAN THAO  र कम्बोडियन नागरिक THEARI UY ले अवैध रुपमा ल्याएको सुन फाल्नको लागि सांकेतिक संवाद गरी निजहरुले आफ्नो साथमा रहेको सुन उप-सचिव कर्ण तिमिल्सिनाको कर्यकक्षमा रहेको सोफा पछाडि फालेको अवस्थामा परिमाण १६८५ ग्राम बरामदसमेत भई विदेशी नागरिहरुउपर कानूनी कारवाही चलेको देखिंदा खानतलासी कार्यमा खटिएकी निज कार्यालय सहयोगी डोमा शेर्पाले सुन लुकाउन लगाई गैरकानूनी रुपमा राजस्व चुहावट गर्न मद्दत गरेको देखिएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को कसुर भएकोले बिगो रु. ७,०७,७००।– (सात लाख सात हजार सात सय) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

Total Page Visits: 122 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com