विशेष अदालत, काठमाडौंमा दायर आरोप-पत्र

सशस्त्र प्रहरी बल बि.ओ.पी. टांघनडुब्बा, झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनको लागि घुस/रिसवत माग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा बोर्डर आउट पोष्ट टांघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईले सेवाग्राहीको व्यापार व्यवसाय गर्न सहज गरिदिने भनी पटक-पटक दु:ख हैरानी दिई घुस/रिसवत माग गरी रु. ५०,०००।– (पचास हजार) लिन राजी भई घुस/रिसवत लिने उद्योग गरेको तथ्य पुष्टि हुन आएको देखिंदा निज खगेन्द्र प्रसाद चापागाईले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुरको उद्योग गर्ने कसुर भएकोले घुस/रिसवत लिन उद्योग गरेको बिगो रु. ५०,०००।– कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विष्णु कुमार राईले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीद्वारा निज विष्णु कुमार राईलाई सेवाग्राहीबाट रु. ५,०००/- (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।अनुसन्धानको सिलसिलामा आमचोक गाउँपालिकाको कार्यालय भोजपुरमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विष्णु कुमार राईले सेवाग्राहीसँग हायु खोला खानेपानी मुहान संरक्षण योजनाको प्राविधिक मुल्याङ्कन गरी बिल फरफारकको लागि योजना पास गरिदिने प्रयोजनको लागि रु. ५,०००।– (पाँच हजार) घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा निज विष्णु कुमार राईलाई बिगो रु. ५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

नेपाल विद्युत प्रधिकरण,  विद्युत बितरण केन्द्र, सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर (८औं तह) शेर बहादुर सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीद्वारा निज इन्जिनियर शेर बहादुर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकालाई लिन पठाएकोमा निजले सेवाग्राहीबाट रू.७५,०००/-(पचहत्तर हजार) घुस/रिसवत रकम लिई भागि गएकोमा पिछा गर्दै जाँदा कमलामाई नगरपालिका, वडा नं. ७, गैरी चोक हुदैं पानी ट्याङ्की जाने बाटोबाट रंगेहात नियन्त्रणमा लिइएको र इन्जिनियर शेर बहादुर सुनारलाई  निजकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो ।अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्र बुद्धनगर सिन्धुलीका केन्द्र प्रमुख इन्जिनियर शेर बहादुर सुनारले आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरीत सेवाग्राहीसँग नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रको कार्यालय सञ्चालन गरिरहेको भवनमा एकतल्ला थप्ने ठेक्का नं. NCB-SDC-2075/076-CVL-12 को निर्माण कार्यको अन्तिम किस्ता भुक्तानी गर्ने प्रयोजनका लागि रु. ७५,०००।– (पचहत्तर हजार) घुस/रिसवत माग गरी सो रकम आफ्नो कार्यालयका दैनिक ज्यालादारी हलुका सवारी चालकलाई लिन लगाई बरामद भएको पुष्टि हुन आएकोले निज शेर बहादुर सुनारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेको देखिंदा बिगो रु. ७५,०००।– कायम गरी निज शेर बहादुर सुनारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

जिल्ला हुलाक कार्यालय, कञ्चनपुरमा कार्यरत टाईपिष्ट ना.सु. प्रेम सिंह कार्कीको शैक्षिक योग्यताको प्रमाण-पत्र झुठ्ठा/नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री पञ्चदेव महानन्द माध्यमिक विद्यालय रिम, बैतडीबाट कक्षा १० को टेष्ट परीक्षा उत्तीर्ण गरेको झुठ्ठा/नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्रका आधारमा सरकारी सेवा प्रवेश गरी लाभ तथा सुविधा लिएको पुष्टि हुन आएको देखिंदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा 12 र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिएको हुँदा निज आरोपी तत्कालीन टा.ना.सु. प्रेम सिंह कार्कीलाई साविक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा 12 र दफा 29 को उपदफा (2) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 186 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com