महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्काले डियुटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागी लाइसन्स राखी कुनै चिट नदिई मिलाउनुस भनी घुस/रिसवत माग गरिरहेको भन्नचना एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज लोग बहादुर खड्कालाई सेवाग्राहीबाट रु.२,०००/- (दुई हजार) घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी जवान लोग बहादुर खड्काले कोटेश्वर चोकमा डियुटीमा रहेको बखत मोटरसाइकल चालकको सवारी चालक अनुमतिपत्र नियन्त्रणमा लिई गल्ती गरेको भए नियमानुसार राजस्व रसिद काटी पठाउनु पर्नेमा सो नगरी दु:ख हैरानी दिई घुस/रिसवत दिएपछि मात्र नियन्त्रणमा लिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता दिन पटक/पटक बार्गेनिङ गरी रु. २,०००।– (दुई हजार) घुस/रिसवत लिएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको हुँदा निज प्रहरी जवान लोग बहादुर खड्काको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई बिगो रु. २,०००।– (दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।