अख्तियारद्वारा विशेष अदालत काठमाडौंमा दर्ता गरिएका मुद्दाहरू

अस्थायी ट्राफिक प्रहरी पोष्ट, खैरेनी रुपन्देहीमा कार्यरत प्रहरी जवान छविलाल पोख्रेलले बिभिन्न  बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दु:ख हैरानी दिने गरेको र टिप्पर आवतजावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज छबिलाल पोख्रेललाई सेवाग्राहीबाट रु. ३,०००।– (तीन हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा अस्थायी ट्राफिक प्रहरी पोष्ट देवदह खैरेनी, रुपन्देहीका प्रहरी जवान छविलाल पोख्रेलले सेवाग्राहीको टिप्परहरु संचालनमा सहजीकरण गरिदिएबापत मासिक रुपमा रकम दिनुपर्ने भनी रु. ३,०००।– घुस/रिसवत रकम माग गरी लिएको तथ्य पुष्टि हुन आएको देखिंदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज छविलाल पोख्रेललाई बिगो रु. ३,०००।– (तीन हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भई हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवल रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारीले बिभिन्न बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दु:ख हैरानी दिने गरेको र टिप्पर आवतजावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सुर्य बहादुर अधिकारीलाई सेवाग्राहीबाट रु. ५,०००।– (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा अस्थायी ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारीले सेवाग्राहीको टिप्परहरु संचालनमा सहजीकरण गरिदिएबापत मासिकरुपमा रकम दिनुपर्ने भनी रु. ५,०००।– घुस/रिसवत रकम माग गरी लिएको तथ्य पुष्टि हुन आएको देखिंदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज सुर्य बहादुर अधिकारीलाई बिगो रु. ५,०००।– (पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेतले झापा जिल्लामा सडक ग्रावेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस/रिसवत माग गरी प्राप्त गरेको घुस बापतको रकम अन्य बैंक खातामा जम्मा गर्न लगाई त्यहाँबाट भुक्तानी लिने गरेको प्रमाणसहितको सूचना एवं उजुरीका आधारमा निज सि.डि.ई. सुबास बस्नेतलाई थप अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको थियो ।अनुसन्धानको सिलसिलामा तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेतले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको कार्यालय प्रमुख हुँदा झापा जिल्लाको गौरीगंज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको कार्य सेवाग्राहीमार्फत गराई सो बापत तथा थप काम दिलाउने प्रयोजनार्थ घुस/रिसवत माग गरी उक्त घुस/रिसवतबापतको रकम पटक-पटक गरी रु. ३७,५०,०००।- जिल्ला साविक नवलपरासी हाल बर्दघाट सुस्ता पूर्व नवपलपरासी स्थित रहेको श्री डिस्टीलरी प्रा.लि. को बैंक खातामा जम्मा गर्न लगाएको स्पष्ट देखिएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले घुस/रिसवत लिएको बिगो रु. ३७,५०,०००।– कायम गरी निज सुबास बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै श्री डिस्टीलरी प्रा.लि. का अध्यक्ष धनेन्द्र कार्कीको तत्कालीन सि.डि.ई. सुबास बस्नेत आफन्त पर्ने र सुबास बस्नेतको प्रत्यक्ष रुपमा सम्पर्क हुने गरेकोमा निज धनेन्द्र कार्कीले श्री डिस्टीलरी प्रा.लि. को बैक खाता नं. आफै नपठाई अर्को मानिसमार्फत बैंक खाता नं. सुबास बस्नेतलाई पठाएको देखिएकोमा निजले सुबास बस्नेतसँगको मिलेमतोमा योजनाबद्ध रुपमा श्री डिस्टीलरी प्रा.लि. को बैंक खातामा सुबास बस्नेतले सेवाग्राहीसँग लिएको घुस/रिसवत रकम लुकाई छिपाई आफ्नै हस्ताक्षरबाट चल्ने बैंक खातामा सुरक्षित राखी प्रत्यक्ष रुपमा सहयोग गरेको स्पष्ट देखिन आएको, उक्त घुस/रिसवत रु. ३७,५०,०००।– तत्कालीन सि.डि.ई. सुबास बस्नेतको बैध आयबाट २०७५ साल ०५ महिनादेखि २०७५ साल ०६ महिनासम्मको अन्तरालमा आर्जन हुन नसक्ने व्यहोरा निज धनेन्द्र कार्कीलाई थाहा नभएको मान्न सकिने अवस्थासमेत नदेखिएको हुँदा निजले जानी जानी आरोपी सुबास बस्नेतलाई घुस लिन सघाउ गरी सहयोग पुर्‍याएको स्पष्ट देखिएको हुँदा निजले गरेको उक्त कार्यले मुख्य आरोपित सुबास बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर गर्न निज धनेन्द्र कार्कीले सघाउ पुर्‍याई सो घुस/रिसवतबापतको रकम आफ्नो खातामा जम्मा गराई आफूले लाभसमेत लिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गर्ने मतियारको कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को वाक्यांशमा उल्लेख भएबमोजिम बिगो रु. ३७,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 2438 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *