जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) ले ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज विश्वनाथ कुर्मी (चौधरी) लाई सेवाग्राहीसँग रु. २,००,०००।–(दुई लाख) लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला कपिलबस्तु, कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित महामाया प्रेस गौढीचोक, तौलिहवाबाट मिति २०७६।११।२९ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस/रिसवत रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज सन्तमाया श्रेष्ठकोलाई जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ गठ्ठाघर चोकमा गाडी रोक्न लगाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रु. २,०३,५००।– (दुई लाख तीन हजार पाँच सय) सहित मिति २०७६।११।२९ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
जिल्ला महोत्तरी, जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय बखरी महोत्तरीका रेन्जर (अधिकृतस्तर) राम अशिष यादवले जिल्ला महोत्तरी एकडारा गाउँपालिका वडा नं. २ को सिफारिससहित घरायसी चिरान काठ लोड गरेको ट्रयाक्टर नियन्त्रणमा लिई बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीद्वारा निज राम अशिष यादवलाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा जिल्ला महोत्तरी, जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय बखरी महोत्तरीका रेन्जर (अधिकृतस्तर) राम अशिष यादवले आफ्नो पदीय जिम्मेवारी र दायित्व विपरीत सेवाग्राहीसँग पक्राउ परेको काठसहितको ट्रयाक्टर छिट्टै छाडिदिने भनी घुस दिन बाध्य बनाई घुस/रिसवतबापतको रु. १५,०००।– (पन्ध्र हजार) रकम बार्गेनिङ गरी लिएको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज राम अशिष यादवलाई बिगो रु. १५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।
म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका-३ स्थित श्री सुर्य ज्योति आधारभूत विद्यालयमा भवन निर्माणको क्रममा जिल्ला शिक्षा कार्यालय म्याग्दीका इन्जिनियर श्रीकृष्ण खनाल र सव-इन्जिनियर प्रमोदकुमार उप्रेतीले अनुचित तरिकाले पैसा असुली गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन इन्जिनियर श्रीकृष्ण खनाल र तत्कालीन सव-इन्जिनियर प्रमोदकुमार उप्रेतीले बिभिन्न बहानामा पटकपटक गरी विद्यालय पक्षसँग रकम लिएको सम्बन्धी उजुरी परेपछि रु. ७०,०००।– फिर्ता गरेको, पहिले कुनै बहानामा लिइसकेको रकम पछि कारवाहीबाट बच्नसक्ने दुषित मनसायले फिर्ता गरेको देखिंदा राष्ट्रसेवक कर्मचारीहरुले गरेको कार्य र प्रचलित कानूनी व्यवस्था विश्लेषण गर्दा शिक्षा विकास तथा समन्वय इकाई बेनी म्याग्दीमा कार्यरत निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजहरु श्रीकृष्ण खनाल र प्रमोदकुमार उप्रेतीलाई घुस/रिसवत लिएको बिगो रु. ७०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।