भ्रष्टाचार गर्ने विरुध अरोपपत्र – अख्तियार दुरुपयोग अनुसन्धान आयोग

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा मिति २०७२।०१।२७ गते प्रहरी जवान पदमा नयाँ भर्ना भई मिति 2072।०९।२२ गते तालिम समापन भएकोमा प्रहरी प्रधान कार्यालयको मिति २०७२।१०।११ गतेको पत्रले माघ महिनादेखिको तलव/भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरुको सरुवा भएकोमा उक्त तालिम केन्द्रका समादेशक महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता खर्च लेखी नगद निकाली खाई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आ.ब. २०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु तथा लेखा सहायक प्र.ह. केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२।१०।११ गतेको पत्रले माघ महिनाको तलव/भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलव भत्ता रु. ३१,८८,४६८/- र मिति २०७२।१०।१८ गतेको पत्रले ०७२ साल माघ ३ गतेबाट तलव भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्ति भएकोमा ०७२ साल माघ १ गतेबाट नै तलव/ भत्ता निकाली १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको २ दिनको बढी रु. १,४९,६१६/८८ (एक लाख उनन्चास हजार छ सय सोह्र रुपैयाँ अठासी पैसा) गरी जम्मा रु. ३३,३८,०८४/८८ (तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा) तलव भत्ता तलवी भरपाईमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाई नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निज आरोपितहरु महेश विक्रम शाह, दिपेन्द्र प्रसाद पनेरु तथा केशव सिंह ऐरीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको प्रमाणित भएकोले निजहरुले  हिनामिना हानिनोक्सानी गरेको बिगो रु.३३,३८,०८४/८८ (तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिइएको छ ।साथै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, भत्ता तथा कट्टी रकमसमेतको भरपाईमा सरुवा भएका प्रहरी कर्मचारीको नाम उल्लेख गरी खर्च लेखेको तथा सरुवा तथा नयाँ नियुक्ति भएका प्रहरी कर्मचारीको पत्रहरु नहेरी खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निज सन्जिब बिशंखेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसुर गरेको हुँदा निज सन्जिब विशंखेलाई सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

साविक नेपाल खाद्य संस्थान हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय, भैरहवामा प्रतिघण्टा १ मे.टन धान कुटान गर्ने राइस मिल जडान गर्ने र अन्य निर्माण काम गर्नुपर्नेमा सो नगरी संस्थानका महाप्रबन्धक देखि फाँटवाला कर्मचारी र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक नेपाल खाद्य संस्थान हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठले नेपाल खाद्य संस्थान र एम.एन. इन्टरनेशनलबीच नेपाल खाद्य संस्थान शाखा कार्यालय भैरहवामा १ टन प्रतिघण्टा धान कुटानी गर्ने स्वचालित राइस मिल जडान गर्नको लागि मिति २०७२।०२।२८ मा भएको सम्झौतामा हस्ताक्षर गरेको, पटक-पटक गरी सम्झौताको म्याद थप गर्न निजले सदर गरेको, सम्झौताको अवधि तथा कार्य सम्पादन जमानतको अन्तिम म्याद रहेको अवधिसम्म निजनै रहेको देखिएकोले निजले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी सम्झौताको शर्त अनुसार कार्यसम्पादन जमानत धरौटी बापतको रु. २,३८,९५६।– रकम जफत नगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकोले निज शिवहरी श्रेष्ठलाई बिगो रु. २,३८,९५६।– कायम गरी भ्रष्टाचार निवारण एन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र हानिनोक्सानी भएको बिगो रकमसमेत असुलउपर हुन एवं निज महाप्रबन्धक पदमा कार्यरत रहेकोले निजलाई भ्रष्टाचार निवारण एन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको छ ।

साथै, खड्ग बहादुर ज्ञवालीले नेपाल  खाद्य संस्थान र एम.एन. इन्टरनेशनलबीच नेपाल खाद्य संस्थान शाखा कार्यालय भैरहवामा १ टन प्रतिघण्टा धान कुटानी गर्ने स्वचालित राइस मिल जडान गर्नको लागि मिति २०७२।०२।२८ मा भएको सम्झौता भई सकेपछि नेपाल खाद्य संस्थान, प्रधान कार्यालयको खरिद इकाई प्रमुखको रुपम रहेको कार्य सम्पादन जमानतबापतको रकम जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गर्नुपर्नेमा मिल सप्लायर्स एम.एन. इन्टरनेशनललाई कार्य सम्पादन जमानतको म्याद थप गर्न भनी पत्राचार गरेको देखिएकोले निजले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी सम्झौताको शर्त अनुसार कार्य सम्पादन जमानत धरौटी बापतको रकम जफत नगरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकोले निज खड्ग बहादुर ज्ञवालीलाई बिगो रु. २,३८,९५६।– कायम गरी भ्रष्टाचार निवारण एन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम समेत असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

आ.व. २०७५।०७६ मा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका १०, स्थित श्री हिरादेवी आधारभुत विद्यालयमा शुद्व खानेपानी तथा स्वच्छ विद्यालय कार्यक्रमको लागि शिक्षा विकास निर्देशनालय प्रदेश नं. ३, हेटौडाबाट प्राप्त भएको १०,००,०००।- (दश लाख) बाट सम्झौता हुदा तयार पारिएको लागत अनुमान अनुसारको काम नगरी प्र.अ. गणेश दाहाल र वडा अध्यक्ष भक्त बहादुर खड्कासमेतले मेलम्ची नगरपालिका र रेडक्रसबाट प्राप्त रकमबाट पहिला नै भएको काम देखाई किर्ते रेकर्ड बनाई रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा हिरादेवी आधारभुत विद्यालयका लागि शुद्व खानेपानी तथा स्वच्छ विद्यालय कार्यक्रमको कार्यसम्पन्न भएको भनी मेलम्ची नगरपालिकाका इन्जिनियर राजेश कुमार शर्मा र सव-इन्जिनियर अनन्त दुलालले सम्झौता अनुसारको काम सम्पन्न नहुदैको अवस्थामा कार्यसम्पन्न भएको भनी प्रतिवेदन तयार गरेको र हिरादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक गणेश दाहालले विद्यालय व्यवस्थापन समितिबाट मिति २०७६।०३।१३ गते कार्यसम्पन्न भएको निर्णय गराई शिक्षा विकाश निर्देशनालय प्रदेश नं. ३, हेटौडाबाट वाँकी रकम भुक्तानी माग गर्ने निर्णय गरी भुक्तानीसमेत लिई सम्झौता रकम रु. १०,००,०००।- (दश लाख) मध्ये रु. ५,७४,३६०।- विद्यालयको वैंक खातामा नै रहेको भएता पनि शुद्व खानेपानी तथा स्वच्छ विद्यालय कार्यक्रममा सामान खरिदको बिल, कार्य सम्पन्न प्रतिवेदनसमेतका कागजात झुठा बनाई काम नै नभएको रकम भुक्तानी लिने कार्य गरी मेलम्ची नगरपालिकाका इन्जिनियर राजेश कुमार शर्मा, सव-इन्जिनियर अनन्त दुलाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर चापागाई र हिरादेवी आधारभुत विद्यालयका प्रधानाध्यपक गणेश दाहालको मिलोमतोमा काम नै नभएको योजनाको काम सम्पन्न भएको भनि भुक्तानी लिने काम गरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्‍याउने वदनियतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा बिगो रु. ६,६२,३९५।०८ (छ लाख बैसठी हजार तीन सय पन्चानव्बे र आठ पैसा) कायम गरी निजहरु प्रेम बहादुर चापागाई, राजेश कुमार शर्मा, अनन्त दुलाल, गणेश दाहाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी हिनामिना हानिनोक्सानी भएको बिगो रकम ऐ. ऐनको दफा ८ को उपदफा (१) वमोजिम प्रतिवादीहरुबाट असूल उपर हुन मागदावी लिइएको छ ।

यसैगरी सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका वडा नं. ११ स्थित एन.पि. हार्डवयरका प्रोपाईटर प्रकाश दाहालले हिरादेवी आधारभुत विद्यलायलाई बिक्री नै नगरेका निर्माण समाग्रीसमेतको बिल जारी गरी आफु वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने र नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याउने बदनियतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उप-दफा (४) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा बिगो रु. १,०३,२८२।- (एक लाख तीन हजार दुई सय वयासी) कायम गरी निज प्रकाश दाहाललाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन हानिनोक्सानी भएको बिगो रकम असुलउपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

Total Page Visits: 1150 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *