
४ मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अंचल कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झासमेत ३ जना उपर आरोप पत्र दायर गरेका छन्।
झाले कार्यालय प्रमुख जस्तो जिम्मेवार पदमा कार्यरत रहँदा कार्यालयका गोदामहरुमा भएको रकम रु. १९,०७,३५०।- (उन्नाइस लाख सात हजार तीन सय पचास) बराबरको रासायनिक मल अनियमित तरिकाले गोदामबाट विक्री वितरण गरिंदा समेत जिम्मेवारी वहन नगरेको, तत्कालीन प्रमुख सहायक दिलचन्द्र राईले आफ्नो जिम्मामा रहेका रासायनिक मलहरु जिन्सी कितावमा आम्दानी देखाई अनियमित तरिकाले विक्री वितरण गरेको र तत्कालीन जुनियर सहायक खगेन्द्र वस्नेतले समेतले पदीय दायित्व पूरा नगरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्याउने वदनियतले कसुर गरेको पुष्टि भएको छ।
श्रोतका अनुसार नविनचन्द्र झा, दिलचन्द्र राई र खगेन्द्र बस्नेत समेतलाई विगो १९ लाख ७ हजार ३ सय पचास कायम गरी हिनामिना हानि नोक्सानी भएको रकम असुल उपर तथा सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।