
१४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुबाट प्रधानाध्यापक समेत २ जना तथा पोखराबाट १ जना सर्भेक्षकलाई मंगलबार घुससहित नियन्त्रणमा लिएको छ ।
बालज्योति मा.वि. बिसनपुर, कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनियालाई अख्तियारको टोलीले शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा स्थित न्यु सिद्धार्थ होटल गेष्ट हाउसबाट ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले प्रधानाध्यापक मौर्य र कार्यालय सहयोगी लोनियालाई पक्राउ गरेको हो ।
त्यसै गरी नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारीलाई अख्तियारको टोलीले पोखरा महानगरपालिका वडा नं.९ स्थित बुद्ध चोक नजिकैबाट १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गर्नको लागि सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको टोलीले सर्भेक्षक भण्डारीलाई पक्राउ गरेको हो ।
श्रोतका अनुसार तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।